भैरहवा । जनमत पार्टीले लुम्बिनी प्रदेश सभामा रिक्त रहेको समानुपातिक सांसद को लागि नीलम पासवानलाई सिफारिस गर्ने निर्णय गरेको छ।
यस अघि समानुपातिक प्रदेश सभा सांसद रहेकी गीता गुरुङ्ग लामो समयदेखि बेलायत बस्दै आएकि छन । लुम्बिनी प्रदेश सभाको बैठकमा १० पटक भन्दा बढी अनुपस्थिती रहेको भन्दै लुम्बिनी प्रदेश सभाका सभामुखले प्रदेश सभाको नियमावली बमोजिम कारवाही भई सो स्थान रिक्त भएको घोषणा गरेका थिए । प्रदेश सभा सचिवालयले सो को जानकारी जनमत पार्टी, लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्रकेश गुप्तालाई समेत गराएको थियो।
समानुपातिक प्रदेश सभा सदस्य पदको लागि पार्टीको समानुपातिक बन्दसूचीको चौथो क्रममा रहेकी पासवानलाई सिफारिस गरिएको जनमत पार्टीका केन्द्रिय सचिव भोपेन्द्र यादवले जानकारी दिए ।
लुम्बिनी संस्कृतिक नगरपालिका ३,रुपन्देहीकी नीलम पासवान पार्टीकी केन्द्रिय कार्यकारिणी समिति सदस्य हुन् । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत हाल बिदेशमा रहेकाले उनी स्वदेश फर्केपछि यसै साता भित्र निर्वाचन आयोगमा सिफारिस पत्र पठाईने पार्टी केन्द्रिय सचिव यादवले जनाए ।