रुपन्देही प्रहरीद्वारा ६ लाख ६१ हजार बराबरको अवैध सामान बरामद

Ujyalosandeshonline 11469+ समाचार ( )
२५ श्रावण २०८२, शनिबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जिल्लाका विभिन्न स्थानबाट करिब ६ लाख ६१ हजार रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। प्रहरीले भन्सार छली र चोरी पैठारी गरी ल्याइएका सामानहरू मिति २०८२ साउन २२ र २३ गतेको जाँचका क्रममा नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, बरामद गरिएका सामानहरूमा चिनी, लत्ताकपडा, खाद्यान्न र कुखुरालगायत रहेका छन् । उक्त सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया र पशु क्वारेन्टाइन कार्यालय, बेलहियामा बुझाइएको प्रहरी नायव उपरीक्षक गणेश सापकोटाले जानकारी दिए ।

प्रहरीका अनुसार, इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको टोलीले सियारी गाउँपालिका-२, अमारीबाट लु ९ प १४०७ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको दुई बोरा चिनीसहित ४७ हजार ४ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय बेलहियाको टोलीले सिद्धार्थनगर नगरपालिका-१, मेउडिहवाबाट कुर्था सुरवाल, मटर दाल, प्रोटिन पाउडर र पाउडर दूध गरी ६४ हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय भैरहवाले सिद्धार्थनगर-८, अञ्चलपुरबाट साडी, सुट, सर्ट पाइन्ट, सेरवानी र लेहेङ्गा गरी कुल १ लाख ४० हजार ५ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको विज्ञप्ति मा उल्लेख छ । यस्तै, प्रहरी चौकी मेउडिहवाले सिद्धार्थनगर-११, नौडिहवाबाट मटर र लेडिज ब्रा गरी ३० हजार ८ सय रुपैयाँको सामान बरामद गरेको छ ।

प्रहरीले अवैध कुखुरा र मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पिप्रहवा, रोहिणी गाउँपालिका-६ बाट कुखुरा र मोटरसाइकलसहित ५७ हजार ९ सय २० रुपैयाँ बराबरको सामान बरामद भएको छ । सबैभन्दा ठूलो परिमाणमा रोहिणी गाउँपालिकाको वडा नं. २ र ७ बाट प्रहरी चौकी मैनिहवाले १३८ वटा ब्रोइलर कुखुरा र तीनवटा भारतीय तथा नेपाली नम्बर प्लेटका मोटरसाइकल सहित ३ लाख २१ हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

रूपन्देहीमा खुला सिमानाको फाइदा उठाउँदै हुने अवैध ओसारपसार नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको देखिन्छ। पछिल्लो समय प्रहरीले नियमित रूपमा भन्सार छलीका सामानहरू बरामद गर्दै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार