भैरहवा । ओमसतिया गाउँपालिकाको शिक्षा क्षेत्र योजनाको मस्यौदा तयार भएको छ । बिहिबार एक कार्यक्रमका बिच ओमसतिया गाउँपालिकामा आयोजित एक कार्यक्रममा यस बिषयमा सरोकारवालाको सुझाव संकलन गरिएको छ ।
युग सुहाउदो शिक्षा प्रणाली अवलम्बन गरि जिविकोपार्जन एवम रोजगारमूलक शिक्षा मार्फत समृद्ध ओमसतया र सुन्दर ओमसतियाबासी बनाउन योगदान गर्ने दिर्घकालीन सोच तथा गन्तब्य सहित १० बर्षे योजनाको मस्यौदा तयार भएको गाउँपालिका अध्यक्ष मञ्जित कुमार यादवल (सोनु) ले जानकारी दिए । १० वर्षमा पालिकाको शैक्षिक गुणस्तर, बिद्यालयहरुको भौतिक अवश्था सुधार लगायतमा आमूल परिवर्तन ल्याउने गरि मस्यौदा तयार गरिएको यादवले बताए ।
यस अवधिमा सबै बालबालिकाहरुका लागि समतामूलक तथा गुणस्तरिय शिक्षामा पहुँच सुनिश्चित गर्ने, माध्यमिक शिक्षामा सबैको पहुँच तथा सहभागीता गरि सान्दर्भिकता र गुणस्तरमा सुधार गर्दै विद्यालयहरुको भौतिक तथा शैक्षिक वातावरण बालमैत्री, समावेशी र सुरक्षित बनाउने लक्ष्य राखिएको छ । उच्च शिक्षामा पहुँच अभिवृद्धि गरि सामाजिक र आर्थिक विकासका लागि विज्ञान र प्रविधि प्रति अभिप्रेरित। प्रतिस्पर्धी र उद्यमशील मानव संसाधनको विकास गर्ने लक्ष्य राखिएको छ ।
मस्यौदामा ८ वटा परिच्छेद रहेका छन् । यसमा शिक्षाका मूख्य उपक्षेत्रहरु प्रारम्भिक बालविकास, आधारभुत शिक्षा, माध्यमिक शिक्षा, प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम, अनौपचरिक शिक्षा र आजीवन सिकाईलाई बिशेष जोड दिईएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए । यसको लागि अन्तरसम्बन्धित विषय तथा क्षेत्रहरुमा पाठ्यक्रम, पाठ्यपुस्तक, सिकाई सामाग्री तथा मूल्यांकन, शिक्षक व्यवस्थापन र विकास, शैक्षिक समता र समावेशीकरण, विद्यालय पोषण तथा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने मस्यौदामा उल्लेख छ । यस्तै विद्यालय सुरक्षा, विपद् न्यूनिकरण तथा उत्थानशिलता, विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रम र विद्यालय सूचना तथा सञ्चार प्रविधि गरि ७ वटा बूंदा समावेश गरिएका छन् ।
अहिले तयार गरिएका मस्यौदालाइ सरोकारवाला बिच व्यापक छलफल गरि यसलाई गाउँ शिक्षा समितिको निर्णय गराई पालिकाको रणनैतिक योजनाको रुपमा अगाडी बढाइने यादवले बताए । यहि १० वर्षे योजनाको आधारमा पालिका तथा प्रदेश सरकार र संघिय सरकारलाई शिक्षा क्षेत्रमा बजेट तर्जुमा गर्न सहज हुने उनले बताए ।
बिहिबार भएको छलफल कार्यक्रममा अध्यक्ष यादव सहित उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्री, वडा अध्यक्षहरु, विद्याललय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक समितिका अध्यक्ष, प्रधानाध्याकहरु लगायतको सहभागीता रहेको थियो । कालिका सामुदायिक स्वावलम्बन केन्द्र, कपिलवस्तुले प्राविधिक सहयोग गरेको छलफल कार्यक्रममा ओमसतिया गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरि पोखरेल र प्रारम्भिक कक्षा पढाई कार्यक्रमका प्रकाश पाण्डेले सहजीकरण गरेका थिए ।