यमलाल भुसाल
बुटवल । सुन्दा पनि अच्चम लाग्ने तर व्यवहारमा प्रमाणित भएपछि कस्को के लाग्दो रहेछ र । रुपन्देही जस्तो सुबिधा युक्त जिल्लामा पनि न्यानो कपडाको अभावमा विद्यार्थी विद्यालय जान समस्या भएको घटना सुन्दा जोकोहीलाई चिन्ता लाग्न सक्छ ।
रुपन्देहीको सीमाबती क्षेत्र रोहिणी गाउंपालिका वडा नम्बर ६ मा संचालित पशुपती माविमा अध्ययन गर्ने विद्यार्थीहरु न्यानो कपडाको अभावमा विद्यालय जान समस्या परेको रहस्य स्वयम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नार्गेन्द प्रसाद धवलले खुलासा गर्नु भएको छ । विगत एक साता देखि बढेको सितलहर र कठाङग्रीने चिसोले गर्दा विद्यार्थी विद्यालय आउन आनकानी गरी रहेको अध्यक्ष धवलले बताउनु भयो ।
पारिवारीक रुपमा गरिबी भएकाले न्यानो कपडा खरिद गर्न नसक्दा विद्यार्थीलाई विद्यालय सम्म ल्याउन समस्या भएको र दाताहरुको खोजी भैरहेको अध्यक्षले बताउनु भयो । विसं २०४७ सालमा स्थापना भएको सो विद्यालयमा यसै चालु शैक्षिक सत्रवाट कक्षा १० को अनुमती प्राप्त गरि अध्यापन हुदै आएको छ । तर अध्यापन गराउने अनुमती माविको भएपनि शिक्षक दरबन्दी भने मावि तहको एउटा पनि नभएको विद्यालयका रुपमा सो विद्यालय रहेको छ ।
माविको अनुमती दिने अधिकार प्राप्त निकायले कमसेकम आवश्यक शैक्षिक दरबन्दीको मिलान गर्न सकेमात्र यस्ता विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले गुणस्तरिय शिक्षा पाउने थिएकी यस वारेमा सरोकारवालाको ध्यानजान जरुरी देखिन्छ ।
सो विद्यालयमा अध्ययन गर्ने कूल विद्यार्थी मध्ये ९५ प्रतिशत विद्यार्थी दलित समुदाय र गरिब परिवारका रहेको पालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख मधु प्रसाद घिमिरेले बताउनु भयो । पालिका भरी १५ वटा सामुदायीक विद्यालय संचालनमा रहेको र सबैभन्दा समस्यामा रहेको विद्यालय पशुपती मावि रहेको पनि शिक्षा शाखा प्रमुख घिमिरेले स्वीकार्नु भयो । सो विद्यालयमा वालविकास तर्फका ५३ जना गरी कुल ४०२ जना विद्यार्थी अध्ययनरत रहेका छन । मावि सम्म संचालित विद्यालयमा ५ जना प्राविका स्थायी शिक्षक, २ जना प्राविकै राहात शिक्षक १ जना निमाविको स्थायी शिक्षक ३ जना पालिकावाट अनुदानका शिक्षक १ जना संघिय अनुदानका २ जना पालिकाका वालविकास सहजकर्ता र एक जना कार्यालय सहयोगीका भरमा विद्यालय संचालन भैरहेको छ ।
पालिकामा रहेका १५ विद्यालय मध्ये ८ मावि, ४ प्रावि ३ वटा निमावि रहेको शिक्षा शाखाले बताएको छ । पालिका भरीमा संचालित विद्यालयमध्ये सबैभन्दा बढी समस्या ग्रस्त रहेको पशुपती माविलाई पालिकाले दिने आर्थिक सहयोगमा समेत विभेद भएको गुनासो एक अभिभावकले बताएका छन ।
सो हुनुमा विद्यालय व्यवस्थापन समिती र पालिकाको नेतृत्व बीचको राजनैतिक तालमेल नहुदा समस्याहुने गरेको अर्को रहस्य पनि हामीलाई प्राप्त भएको छ । पालिकाका अध्यक्ष जसपा र विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राप्रपा भएकाले पनि दुई बीच राजनैतिक प्रतिशोध रहेको आफनो नाम नवताउने गरी एक अभिभावकले सुनाएका छन ।
जेहोस राजनैतिक प्रतिशोध भन्दा पनि सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको भविस्यलाई ध्यानमा राख्न सकियो भने मात्र पालिकामा राजनैतिक गर्न दुवै जना लाई सहज हुने छ । त्यस तर्फ सरोकारवाला निकाएको ध्यानजान जरुरी छ ।