सिरहा । सिरहामा दुई छुट्टाछुट्टै घटनामा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् भने ठूलो परिमाणमा गाँजा बरामद भएको छ । सिरहाको गोलबजार नगरपालिका वडा नं. ०६ दुर्गा मन्दिर नजिकैबाट प्रदेश २-०१-००१ प. ३०२६ नम्बरको मोटरसाइकललाई प्रहरीले चेकजाँच गर्दा लागुऔषध (खैरो हिरोईन) फेला परेको थियो ।
प्रहरीले मोटरसाइकल चालक गोलबजार-०७ बस्ने २९ वर्षीय सुनिल साह र पछाडि सवार धनगढीमाई नगरपालिका-७ बस्ने २४ वर्षीय बिष्णुदेव यादवलाई पक्राउ गरेको छ। उनीहरुको साथबाट प्लाष्टिकसहित १७.५४० ग्राम र प्लाष्टिकबाहेक १५ ग्राम खैरो हिरोईन बरामद भएको छ। पक्राउ परेकाहरुमाथि इलाका प्रहरी कार्यालय गोलबजारमा थप अनुसन्धान भइरहेको छ।
त्यस्तै इलाका प्रहरी कार्यालय माडरबाट खटिएको गस्ती टोलीले गोप्य सूचनाका आधारमा सिरहा नगरपालिका वडा नं. १७ पटेर्वा गाउँ नजिकै धानखेतको बाटो हुँदै नेपालबाट भारततर्फ लागुऔषध (गाँजा) बोकी लैजाँदै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ। प्रहरीलाई देख्नासाथ अन्य मानिसहरु ६४.९ किलो ग्राम गाँजा फाली फरार भएका थिए।
प्रहरीले भारत बिहार मधुबनी जिल्ला जयनगर थाना बेलही ग्राम पन्चायत वडा नं. ०६ बेला बस्ने ५५ वर्षीय श्रीचन मण्डललाई भाग्दै गर्दा पक्राउ गरेको हो। बरामद भएको गाँजासहित श्रीचन मण्डललाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई अनुसन्धान भइरहेको छ भने फरार रहेका अन्य मानिसहरुको खोजी कार्य जारी छ।