भैरहवा । भदौ २३ र २४ गते जेनजी समूहको आन्दोलनका क्रममा क्षति पुगेको भैरहवा भन्सार कार्यालयले कार्यालय परिसरमा टेण्ट टाँगेर सेवा प्रवाह सुरु गरेको छ । प्रमुख प्रशासकीय भवनमा भएको तोडफोड र आगजनीका कारण ठूलो क्षति भएपछि सेवाग्राहीलाई निरन्तर सेवा दिनका लागि यो वैकल्पिक व्यवस्था गरिएको हो ।
भन्सार अधिकृत तथा कार्यालयका सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीले जानकारी दिएअनुसार, आन्दोलनकारी समूहले कार्यालयको दुईतल्ले प्रमुख प्रशासकीय भवनमा पूर्ण रूपमा क्षति पुर्याएको छ। प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेका अनुसार भवनमा रहेका फर्निचर, कम्प्युटर, महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका छन् । यात्रु शाखा पूर्ण रूपमा जलेको छ भने कार्यालयभित्र रहेको बैंकको शाखामा समेत क्षति पुगेको छ ।
क्षतिको बाबजुद पनि भन्सार कार्यालयले सेवा प्रवाहलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । न्यौपानेले प्राथमिकता निर्धारण गरी वस्तुहरूको जाँचपास सुरु गरिएको बताए । शुक्रबार २८२ वटा गाडीहरूको जाँचपास सम्पन्न भएको उनले जानकारी दिए ।
नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष मधु प्रसाद पन्थीले कर्मचारीहरूले कार्यालय परिसरमा टेण्टमुनि बसेर ल्यापटपमार्फत सेवा प्रदान गरिरहेको बताए । उनले उद्योगी–व्यवसायी सेवाग्राहीलाई कार्यालय प्रांगणमा सेवा प्रदान गर्ने भैरहवा भन्सार कार्यालयको प्रयासप्रति आभार व्यक्त गरे।
आर्थिक वर्ष २०८२/०८३ मा भैरहवा भन्सार कार्यालयले १ खर्ब १३ अर्ब राजस्व संकलनको लक्ष्य पाएको छ। बेलहिया, नेपालको प्रमुख स्थलमार्ग भन्सार नाका हो, जहाँबाट सबैभन्दा धेरै पर्यटकहरू भित्रिने गर्दछन्। कार्यालयमा भएको क्षतिको बाबजुद पनि सेवाप्रवाहमा देखिएको यो तत्परताले जनजीवन र व्यापार व्यवसायलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।