भैरहवा । भैरहवा स्थित गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल नियमित सञ्चालनमा नआएको बताउदै यहाका स्थानियहरु आक्रोशित भएका छन् । बिभिन्न संस्थाहरुको साझा सञ्जालको रुपमा “सिद्धार्थ सञ्जाल रुपन्देही” गठन गरि आन्दोलनको घोषणा गरिएको छ ।
गौतमबुद्ध अन्र्तराष्टिय बिमानस्थल नियमित रुपमा सञ्चालन गराउने उद्देश्य सहित आन्तरिक बिमानस्थल बन्द गर्ने सम्मको कार्यक्रम सञ्जालले सुरु गरेको छ । बिमानस्थलकै बिषयमा सञ्जालले प्रधानमन्त्री पुष्पकमल दहाल, नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा, लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्ली बहादुर चौधरीलाई ज्ञापन बुझाएको छ । यस संगै मंसिर २२ गते शान्तीपूर्ण ¥याली गर्ने र २४ गते बिमानस्थलको आन्तरिक टर्मिनलमा बिरोध प्रर्दशन गर्ने कार्यक्रम रहेको सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । “हामीले ट्राभल एजेण्टहरुलाई आन्तरिक तर्फ पनि टिकट नकाट्न आग्रह गर्दै पत्र पठाएका छौं ।” ज्ञवालीले भने “सो अवधि सम्म सरकार नजागे आन्तरिक बिमानहरु ठप्प पार्नेछौं ।”
सञ्जालले बिहिबार भैरहवामा आयोजना गरेको कार्यक्रममा बिभिन्न ३५ वटा संघ संस्थाले सञ्जालको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल सञ्चालनमा सरकारले देखाएको उदासिनताको कारण यहा ८० अर्ब भन्दा बढीको लगानी जोखिममा परेको उनिहरुको दावी छ ।
बिमानस्थल सञ्चालनको लागि अब “गर या मर”को स्थिति आएको बताउदै यहाका ब्यवसायीहरु त्यसको लागि आफुहरु बलिदान दिन तयार रहेको बताएका छन् । “नेपालमा आन्दोलन नगरि केही प्राप्त हुदैन भन्ने नजिर स्थापना भएको छ ।” लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डले भने “भैरहवाबाट आन्दोलनको सुरुवात भएको छ, यसमा समग्र प्रदेशको तपाईहरुलाई साथ रहनेछ ।”
सिद्धार्थनगर नगर पालिकाका प्रमुख ईस्तियाक अहमद खाँनले भैरहवावासीहरु बिमानस्थल सञ्चालनको लागि बलिदानी गर्न तयार रहेको बताए । “सरकारले काठमाण्डौं बाहिरलाई नेपाल मान्नै तयार छैन ।” खाँनले भने “सरकारले आँखामा पट्टि बाँधेको छ, काठमाण्डौ बाहिरलाई किरा सरह ब्यवहार गर्छ ।”
खाँनले एउटा बिमानस्थल सञ्चालनमा नआउदै सरकारी पक्षहरु कमिशनको लोभमा अरु पनि बिमानस्थल निर्माण गर्न लागेको आरोप लगाए ।
भैरहवा स्थित गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलबाट अहिले नेपाल एयरलाईन्सको बिमान मंगलबार एक दिन मात्र भैरहवा आउने गरेको छ । यस अघि जजीरा एयरलाईन्सले सातामा ३ पटक र हिमालय एयरलाईन्सको चार्टर उडान गरे पनि अहिले उनिहरुले उडान रोकेका छन् ।
गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल सञ्चालनको लागि आवश्यक पूर्वाधार नरहेको नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले यस अघि बताएका थिए । यहा श्रम कार्यालय रहेको छ । तर यस बाहेक आवश्यक पर्ने अन्य पूर्वाधार भिसा सेन्टर, मेडिकल सेन्टर लगायत नहुदा बिमानस्थल नियमित सञ्चालनमा थप कठिनाई देखिएको सरोकारवालको भनाई छ ।