भैरहवा । भैरहवा स्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि सरकारले दिएको वाचा पुरा नगरेको भन्दै यहाँको निजि क्षेत्र आन्दोलित भएको छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल नियमित सञ्चालनमा ल्याउन माग गर्दै निजि क्षेत्रले बुधबार विमानस्थल अगाडी १ घण्टा धर्ना प्रर्दशन गरेका छन् । (उद्योग व्यपार संगठन) चेम्बर अफ कमर्श, रुपन्देहीको आयोजनामा भएको धर्ना कार्यक्रमलाई विभिन्न संघ संस्थाहरुले ऐक्यवद्धता जनाएका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारको लगानीमा निर्माण भए पनि यसमा निजि क्षेत्रको अझ बढी लगानी रहेको र विमानस्थल सञ्चालनमा नआउदा त्यो लगानी डुब्ने जोखिम बढेको व्यवसायीहरुको भनाई छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सञ्चालनमा सरकारले देखाएको उदासिनताको कारण यहा ८० अर्ब भन्दा बढीको लगानी जोखिममा परेको ब्यवसायीहरुको गुनासो छ । कहिले चल्ने र कहिले बन्द हुने पनि अवस्थाले उद्योगी, व्यवसायी, पर्यटक तथा सर्वसाधारणमा निराशा छाएको छ ।
उद्योग व्यपार संगठनका पूर्व अध्यक्ष नारायण प्रसाद भण्डारीले सरकारले विमानस्थल देखाएर निजि क्षेत्रलाई लगानी गर्न उक्साएको र अहिले धोका दिएको टिप्पणी गरे । उनले कमिशन खानकै लागि विमानस्थलहरुको निर्माण गरे पनि यसको सञ्चालनमा सरकार देखि राजनैतिक दलहरुले रुचि नदेखाएको आरोप लगाए । “काठमाण्डौं भन्दा बाहिर नजानको कारण के छ भने त्यहाँ केही गिरोह छ जसले सरकारका मन्त्री, सचिव देखि अन्य कर्मचारीलाई कमिशन पु¥याउछन् ।” भण्डारीले भने “त्यसैले त्यो जालो तोड्नको लागि अब हामीहरु तैयार भएर बस्न आवश्यक छ, सांकतिक विरोधले कुरा नमिले अनिश्चितकालीन आन्दोलनको लागि पनि हामी तैयार छौं ।”
भैरहवा विमानस्थल नियमित सञ्चालनको लागि आन्दोलन सुरु गरिएकोले अब यसलाई यहि नरोक्ने उनिहरुको भनाई छ । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले छुट्टाछट्टै आन्दोलन गर्नु भन्दा सबै संघसंस्था र स्थानियहरु एकजुट आन्दोलन गर्नुपर्ने बताए । “एकजुट भएर एउटै स्वर ननिकाले सम्म काठमाण्डौंले हाम्रो आवाज सुन्नेवाला छैन ।” उनले भने “अबको दिनमा जुनसुकै पार्टीका नेता आए पनि उहाँहरुलाई हामीले स्वागत नगरि बहिष्कार गरौ ।”
सरकारले पटक पटक विमानस्थल सञ्चालन गर्ने वाचा दिए पनि त्यो पुरा गराउन नसकेको व्यवसायीहरुको आरोप रहेको छ । विमानस्थललाई तत्काल पूर्ण र नियमित रुपमा सञ्चालन गर्न आवश्यक नीति, पूर्वधार श्रोतको व्यवस्थापन गर्न यहाँका निजि क्षेत्रले माग राखेका छन् ।
सोही विषयको ज्ञापन पत्र समेत तयार पारेर विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारी मार्फत प्रधानमन्त्रीलाई बुझाउने पूर्व निर्धारित कार्यक्रम पनि रहेको थियो । तर महाप्रवन्धक आफु ज्ञापन बुझ्न बाटोमा नआउने बताएको भन्दै आन्दोलनकारीहरु आक्रोशित भएका थिए । चेम्बर अफ कमर्शका अध्यक्ष दर्पण श्रेष्ठले विमानस्थलको प्रवेशद्वारमै कार्यालयको महाप्रवन्धक नआउन कर्मचारी तन्त्रमा भएको हैकमवादी रहेको बताए । उनले विमानस्थल सञ्चालनमा आउन नसक्नुको ठूलो कारणहरु मध्ये कर्मचारी पनि एक रहेको बताउदै महाप्रवन्धकको यो कदमको भत्र्सना गरे ।
महाप्रवन्धकलाई ज्ञापनपत्र बुझाउन नसकेपछि श्रेष्ठले सञ्चारकर्मिहरुकै अगाडी ज्ञापनपत्र सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरुलाई नियमित गर्न सरकारको पहलमा प्रभावकारी कार्यान्वयन गरिनुपर्ने माग सारेका छन् । धर्ना कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले संगठनको १२ बुंदे माग रहेको बताए । निजि तथा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुदै उडान गर्न प्रोत्सान दिने निति तथा सहजिकरण कर छुट, सेवा शुल्क छुट गर्न र विमानस्थल सञ्चालनमा देखिएको प्राविधिक तथा प्रशासनिक समस्याहरुको शिघ्र समाधान गर्न माग गरिएको छ ।
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलाई दोस्रो मुख्य अन्तर्राष्ट्रिय प्रवेशद्धारको रुपमा विकास गर्न राष्ट्रिय निति तथा रणनीतिमा उच्च प्राथमिकता दिन, लुम्बिनी क्षेत्रको धार्मिक पर्यटनलाई जोड्दै विशेष पर्यटक प्याकेज विकास गरी विमानस्थलमा चाप बढाउने पहल गर्न माग रािखएको छ । विमानस्थलमा व्यापार र निर्यात प्रबंधनका लागि एयर कागों सेवा विस्तार तथा स्थानिय र निजि क्षेत्र संग सहकार्य गरी विमानस्थलको दिगो सञ्चालनको सुनिश्चितता गर्न आवश्यक रहेको श्रेष्ठले बताए ।
वैदेशिक रोजगारमा जाने यात्रुहरुको लागि श्रम स्वीकृति, मेडिकल जांच, ओभरसिज इम्प्लोइमेन्ट इजाजत, विमा, इम्बार्केशन काउन्सेलिङ लगायतका वन–स्टप सेवा केन्द्र स्थापना र वैदेशिक रोजगार विभागको क्षेत्रीय कार्यालय स्थापना गर्न पनि माग गरिएको छ । यस्तै विमानस्थलमा श्रमिक सहायता काउन्टर स्थापना गर्न माग गर्दै माग पुरा नभए अझै कडा आन्दोलनमा जाने चेतावनी दिईएको छ ।
धर्ना कार्यक्रममा मोबाईल व्यवसायी संगठनका अध्यक्ष बियन गुप्ता, वडा नम्बर ४ का वडा अध्यक्ष भोला यादव, लुम्बिनी ईट्टा व्यवसायी संघका अध्यक्ष अजय कुमार गुप्ता, नागरिक समाजका अध्यक्ष आनन्द प्रसाद गुप्ता, सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल ज्ञवाली, सहकारी सञ्जाल, सिद्धार्थनगरका अध्यक्ष कुल प्रसाद न्यौपाने, चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरल लगायतले बोलेका थिए ।