काठमाडौँ । सरोकारवालाले सीमान्तकृत दलित समुदाय स्वास्थ्य बिमा कार्यक्रमको लक्षित समूह भए पनि अधिकांश दलितहरूलाई जानकारी नै नभएको धारणा राखेका छन् । दलित समुदायलाई शिक्षित गर्ने उद्देश्यले एसिया दलित अधिकार मञ्च र इक्विटी सोसाइटी नेपालद्वारा आज आयोजना गरेको स्वास्थ्य बिमा कार्यक्रमसम्बन्धी कार्यक्रममा स्वास्थ्य बिमा सामाजिक सुरक्षाको एउटा राम्रो कार्यक्रम भए पनि यस विषयमा धेरै दलितहरु अनविज्ञ भएको बताएका हुन् ।
एसिया दलित अधिकार मञ्चका महासचिव तथा इक्विटी सोसाइटी नेपालका अध्यक्ष भक्त विश्वकर्माले गरिब र सीमान्तकृत दलित समुदायले स्वास्थ्य बिमाबाट लाभ लिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य बिमा कार्यक्रमबाट अधिकतम लाभ लिनसक्ने युवा र महिलालाई केन्द्रित गर्दै सबैभन्दा सीमान्तकृत दलित समुदायलाई सचेत गराउने हाम्रो प्रयास हो ।” अध्यक्ष विश्वकर्माले सामाजिक, शैक्षिक र राजनीतिक रूपमा ऐतिहासिक रूपमा सीमान्तकृत दलित समुदाय स्वास्थ्य बिमा कार्यक्रमको लक्षित समूह भए पनि अधिकांश दलित यस कार्यक्रमका बारेमा अनभिज्ञ रहेको सुनाउनुभयो ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाका कार्यकारी सदस्य जीवन नेपालीले चाँगुनारायण नगरपालिकामा स्वास्थ्य बिमा कार्यक्रम रहको र दलितहरू लक्षित समुदायभित्र रहेको बताउनुयभो । उहाँले स्वास्थ्य बिमाले जीवन बचाउनसक्ने र आपतकालीन समयमा खल्तीबाट हुने खर्चको जोखिम कम गर्न सकिने जानकारी दिनुभयो ।
विज्ञ डा आइत विश्वकर्माले शताब्दीयौँदेखि निर्णय गर्ने निकायमा राज्य संयन्त्रबाट व्यवस्थित रूपमा बहिष्कृत भएकाले ऐतिहासिक रूपमा सीमान्तकृत व्यक्तिहरूको आधारभूत स्वास्थ्य अवस्था, शिक्षा र सम्मानजनक जीवनका लागि सामाजिक सुरक्षा मात्र आशा भएको धारणा राख्नुभयो । नेपाल सरकार स्वास्थ्य बिमा बोर्डका प्रदेश संयोजक मनोज पौडेल बागमतीको सहजीकरणमा भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका २५ जना दलित युवा तथा महिलाले तालिममा भाग लिएका थिए । स्वास्थ्य बिमा कार्यक्रम भक्तपुरकी जिल्ला संयोजक निर्मला भट्टराईले भक्तपुर जिल्लामा स्वास्थ्य बिमाको विद्यमान स्थिति प्रस्तुत गर्दै जिल्लामा नेपाल सरकारको नीतिगत व्यवस्थामाथि प्रकाश पार्नुभएको थियो ।