भैरहवा । मधेशवादी नेता राजेन्द्र महतोले एकल राष्ट्रवादले डुबाएको देशमा बहुलराष्ट्रवादको आवश्यकता रहेको औल्याएका छन् । केहि समय अघि मात्र लोकतान्त्रिक समाजवादी पार्टीबाट अलग भई राष्ट्रिय मुक्ति क्रान्ति अभियान चलाईरहेका महतोले शुक्रबार भैरहवामा आयोजित एक कार्यक्रममा सबैलाई बहुलराष्ट्रवादले मात्र समेट्न सक्ने बताएका हुन् ।
राष्ट्रिय मुक्ति क्रान्ति अभियानको आयोजनामा भैरहवामा सम्पन्न बहुलराष्ट्रिय राज्य नेपाल स्थापनार्थ बृहद सम्वादात्मक कार्यक्रममा बोल्दै नेता महतोले नेपाल धेरै जात–जातीले बनेपनि अधिकार र पहिचानलाई कुण्ठित पारिएको बताए । “यो देशमा सबैलाई आ– आफ्नो अधिकारको साथ बस्नु छ, नेपाली जनता यो भन्दा तल अब जान सक्दैनन्,” उनले भने “यसको लागि अब अन्तिम लडाई लड्नु पर्नेछ, सबै तयार भएर बस्नुहोला ।”
महतोले शासन र संविधान जनताको लागि हुनुपर्नेमा त्यो नभई आफ्नो हित र कुर्सीको रक्षाको लागि मात्र सिमित भएको उनले बताए । “नेपाल बहुपहिचानवादी देश हो तर त्यो अनुसारको शासन रहेको छैन्,” उनले भने “देशमा पहिचान र अधिकारका लागि धेरै आन्दालेन र लडाई भयो तर त्यसले निकास दिन सकेन कारण हो एकल आन्दोलन ।”
देशमा सुशासन र समृद्धिको नारालाई पुरा गर्न बहुलराष्ट्रियवाद ले मात्रै सम्भव भएको नेता महतोको भनाई छ । यसको लागि सबै समुदाय, धर्म जात–जाती र वर्गका पहिचान, सुशासन, समृद्धि तथा समाजिक न्यायका लागि गोलबद्ध भएर अगाडि बढन आवश्यक रहेको उनले जिकिर गरे ।
पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्व मेयर मनमोहन चौधरी, स्वराज अभियान नेपालका संयोजक गोविन्द थारु, समान अभियानका संयोजक सिएन थारु, युवा समूह रुपन्देहीका अध्यक्ष बिशाल गुप्ता, आशिष समाजिक सेवा नेपालकी विजया खत्री लगायतको उपस्थिति रहेको थियो ।