विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति गौरवको संस्कृति भएको भन्दै प्रदेश सरकारले यसको संरक्षण गर्ने बताएका छन् ।
थारू कल्याणकारणी सभाले मंगलबार आयोजना गरेको चौथो बर्जु माघी महोत्सवमा मुख्यमन्त्री कार्कीले थारू संस्कृति अतिक्रमित भइरहेकाले संरक्षण गर्दै अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक भएको बताए ।
‘थारू संस्कृतिलाई गौरवपूर्ण बनाऔं र यसको अन्तर्राष्ट्रियकरण गरौं,’ उनले भने, ‘थारू संस्कृति यो प्रदेशको ठूलो सम्पत्ति हो, यसलाई मासिन दिनुहुँदैन ।’
थारू संस्कृति, समाजको कथा र व्यथा झल्किने भित्ता भएको घरलाई थारू होमस्टे बनाएर बाहिरबाट आएका मान्छेलाई अवलोकन गराउनुपर्ने उनले बताए ।
‘होमस्टेमा आउने पाहुनालाई थारू परिकार, नृत्य, गीत, कथा, कहानी, गौरवमय इतिहास सुनाउनुका साथै चित्रकला, थारूको ग्राम थानलगायतका संस्कृतिको अध्ययन गराउनु पर्छ’ कार्कीले भने, ‘यसले थारू संस्कृतिका साथै प्रदेश र देशको गौरव बढाउँछ ।’
प्रदेश सरकारले सम्पूर्ण थारू, राजबंशीलगायतका आदिवासी, जनजाति, अल्पसंख्यकको भाषा, संस्कृति संरक्षण, सम्बर्धन, अध्ययन, अनुसन्धान र विकासका लागि फाल्गुनन्द भाषा, संस्कृति अध्ययन प्रतिष्ठान गठनका लागि बजेट विनियोजन गरेर काम अघि बढाएको उनले बताए ।