भैरहवा । सहकारीको ताला तोडेर गोदामको मल बांडे पछि रुपन्देहीका रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादव विवादमा तानिएका छन् । रोहिणी गाउँपालिका वडा नम्बर २ मा रहेको विराट कृषि सहकारी संस्थाले आफुहरुको अनुपस्थितिमा गाउँपालिका अध्यक्षले ताला तोडेर मल लुटेको आरोप लगाएको छ । गाउँपालिका अध्यक्षले भने सहकारीले अनुदानमा पाएको मल बढी मूल्य लिएर बिक्री गरेकोले सबैको रोहवरमा मल किसानलाई वितरण गरिएको दावी गरेका छन् ।
रोहिणी गाउँपालिका वडा नम्बर २ मा रहेको श्री विराट सहकारी संस्था लिमिटेडले भदौं २७९ बोरा युरिया मल ६ गते लिएर आएको थियो । ७ गते शनिबार परेको, ८ गते स्थानिय बजार भएकोले २ दिन वितरण गर्न नसकेको संस्था अध्यक्ष श्याम वचन यादवले बताए । ९ गते बैठक बसेर १० गते मल वितरण गर्ने सूचना प्रकाशन गरे पनि ९ गते नै गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले ताला तोडेर मल लुटेको उनको आरोप छ ।
“मलाई सहकारीको गोदाममा आउनु प¥यो भनेर एक्कासी फोन आयो, म बाहिर भएकोले तत्काल उपस्थित हुन सक्दैन भोली मल वितरण गर्ने सूचना जारी गरेका छौ भनि जानकारी गराए ।” सहकारीका अध्यक्ष यादवले भने “तर दिउसोमा प्रमुख प्रशासकिय अधिकृत सहित आउनुभएको पालिकाका अध्यक्षले सबै मल उठाई दिनुभयो । त्यसको भरपाई, मलको रकम लगायत केही पनि हामीले पाएका छैनौं ।”
पालिकाले आफै वितरणको मापदण्ड बनाएर पालिका अध्यक्षले आफै ताला तोड्नु पालिकाका अध्यक्षको राजनैतिक गुण्डागर्दि रहेको सहकारीका कोषाध्यक्ष साकीर अली खाँले बताए । सबैलाई किसान कार्ड बनाएर व्यस्थित रुपमा मल वितरण गरेको दावी गर्दै खाँ ले पालिका अध्यक्ष सहित कर्मचारीहरु बिरुद्ध तत्काल जिल्ला प्रशासन कार्यालयमा उजुरी दिईएको जानकारी दिए ।
सहकारीका शेयर सदस्य समेत रहेका पूर्व वडा सदस्य अनिल कुमार यादवले पालिका अध्यक्ष सहितको टोलीलाई कारवाही हुनुपर्ने माग राखे । सबै सरकारको निति नियममा हिड्नुपर्ने र पालिका अध्यक्ष यसभन्दा बाहिर हुनै नसक्ने उनको जिकिर छ । “अरु सहकारीमा पनि मल थुप्रिएको छ, कृषि सामाग्री कम्पनी लगायतमा पनि मल थुप्रिएको छ, यसै गरि सबैको ठाउँको मल लुट्ने ?” उनले प्रश्न गरे “गाउँपालिका अध्यक्ष भनेको सबैको अभिभावक हो, लुट्दै हिड्ने लुटेरा हैन ।”
सहकारीले यस अघि मल बाडिसकेको किसानलाई पुनः मल नदिई नयाँ किसानलाई मल दिने सूचना जारी गरे पछि पहिला मल पाएकाहरु नै पुनः मल पाउन पालिका अध्यक्षलाई उक्साएको यादवको दावी छ ।
पालिका अध्यक्ष सहितको टोलीलाई कार्यवाही नभए अन्य सहकारीमा मल खरिद बिक्रि बन्द गर्ने अन्य सहकारीका सञ्चालकहरुले चेतावनी दिएका छन् ।
यता गाउँपालिका अध्यक्षले भने विराट सहकारीले अनुदानमा पाएको मललाई अनियमित तरिकाले बढी मूल्यमा बिक्री गरिरहेको उजुरीको आधारमा कारवाही गरिएको बताएका छन् । सहकारीले पालिकाको सिफारीसमा मल ल्याए पनि त्यसलाई आसेपासेलाई बाँडने गरेको र किसानलाई नै महङ्गो मूल्यमा बिक्रि गरेको गुनासो आएको थियो ।” पालिका अध्यक्ष विद्या प्रसाद यादवले भने “शुक्रबार नै २७९ बोरा युरिया मल ल्याएको सहकारीले सोमबार सम्म पनि मल वितरण नगरे पछि सबैको रोहवरमा किसानलाई मल वितरण गरेको हु ।”
उनले मल वितरण गर्न सहकारीका सञ्चालकलाई पटक पटक आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेको आरोप समेत लगाए । पालिकाका यस्ता महङ्गो मूल्यमा बिक्रि गरिरहेको अन्य सहकारी बारे पनि सूचना आएको र यस बारे अन्य बुझेर कारवाही प्रकृया अगाडी बढाईने उनको दावी छ ।