मर्चवार । मुस्लिम समुदायको पवित्र पर्व रमजानको अवसर पारेर रुपन्देहीका २ सय विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । तौहिद मानव परोपकार सेवा संघ कोटहीमाई–५ को आयोजना तथा बेलायतस्थित 'वन लाइफ ग्लोबल वेलफेयर सोसाइटी'को सहयोगमा कोटहीमाई–५ बेनीनगरमा राहत वितरण गरिएको हो ।
वितरण गरिएको राहत सामग्रीमा चामल, पिठो, खाने तेल, नुन, दाललगायतका अत्यावश्यक उपभोग्य वस्तुहरू छन् । रुपन्देहीका कोटहीमाई, मर्चवारीमाई, सम्मरीमाई, मायादेवी, सियारी र शुद्धोधन गाउँपालिकाका अति विपन्न परिवारलाई उक्त खाद्यान्न प्रदान गरिएको हो । विशेषगरी राहत वितरणमा मुस्लिम र हिन्दु दुवै समुदायका विपन्न परिवारलाई समेटेर धार्मिक सहिष्णुता र सामाजिक सद्भावको सन्देश दिन खोजिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष सैफुल्लाह चुरिहारले रमजान दान, सहयोग र परोपकारको महिना भएकाले सहयोगी दाताहरूको सहकार्यमा विपन्न परिवारको चुल्हो बाल्न सहयोग गरिएको बताए । त्यस्तै, राहत हस्तान्तरण गर्दै कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले पवित्र महिनामा 'हुने खानेले हुँदा खानेलाई' सहयोग गर्नु अत्यन्तै सकारात्मक र प्रेरणादायी कार्य भएको बताए ।
यस्ता गतिविधिले समाजमा एकताको सन्देश प्रवाह गर्ने भन्दै उनले संस्थाका मानवीय कार्यमा गाउँपालिकाले सदैव आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाए । स्थानीय समाजसेवी, नागरिक अगुवा र सरोकारवालाहरूको उपस्थिति रहेको कार्यक्रममा आयोजक संस्थाले आगामी दिनमा पनि विपन्न लक्षित यस्ता राहत र सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।