सन्धिखर्क । अर्घाखाँची जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गतको मतगणना सुरु भएको छ। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ४ स्थित वाङ्लाबाट मत गन्न थालिएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सन्धिखर्कको मतगणनापछि क्रमशः जिल्लाका अन्य स्थानीय तहहरूको मतगणना अगाडि बढाइनेछ। जसअन्तर्गत शितगंगा, भुमिकास्थान, मालारानी, छत्रदेव र अन्तमा पाणिनी गाउँपालिकाको मत गनिने कार्यतालिका तय गरिएको छ। यस निर्वाचनमा जिल्लाभर कुल ५०.४९ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिएका छन्।
एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल १५ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेका छन्। जसमध्ये १२ जना विभिन्न राजनीतिक दलका उम्मेदवार हुन् भने ३ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्। चुनावी मैदानमा मुख्य रूपमा नेकपा एमालेका तर्फबाट पिताम्बर भुसाल, नेपाली काँग्रेसबाट विष्णुप्रसाद खनाल (मुस्कान), राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिप्रसाद भुसाल र नेपाल कम्युनिस्ट पार्टीबाट रामबहादुर चौहान लगायतका उम्मेदवारहरू रहेका छन्। मतगणना सुरु भएसँगै अबको नतिजा कसको पक्षमा जाला भन्ने विषयलाई सर्वसाधारणले निकै चासोका साथ हेरिरहेका छन्।