भैरहवा । विदेशी एवम आन्तरिक पर्यटकलाई लक्षित गर्दै भैरहवामा अल्ट्रा होटल सञ्चालनमा आएको छ । ३० करोड लगानी रहेको होटलमा खाना र सेवालाई प्राथमिकता दिइने सञ्चालकले बताएका छन् ।
होटलका महाप्रवन्धक रिजन सुवालले होटलमा स्वादिलो र गुणस्तरीय खाना र नास्ता उपलब्ध गराइने बताए । उनले होटलमा ईण्डियन, कन्टिनेन्टल, थाई संगै नेपाली परम्परागत खानाहरु उपलब्ध गराईने बताए । “हामीले आफ्नो मेनुमा अल्ट्रा राखेका छौं । अल्ट्रा खाजा, अल्ट्रा खाना संगै अल्ट्रा नास्ताहरु उपलब्ध गराउनु नै हाम्रो बिशेषता हो ।” सुवालले बताए “यसले हाम्रा ग्राहकहरुले अन्य होटलहरुमा पाउने सुविधा भन्दा बिशेष स्वाद पाउने छन् ।”
होटलमा ४० वटा कोठाहरु रहेको छन् । डिलक्स, सुपर डिलक्स तथा स्वीट रुममा छुट्टयाईएका यी कोठाहरु ३ हजार देखि १५ हजार रुपैया सम्ममा उपलब्ध गराईने सुवालले जानकारी दिए ।
सुनवल नगरपालिकाका उप–प्रमुख समेत रहेका सूर्य कुमार दुबे र उनको परिवारको स्वामित्वमा रहेको होटलमा जग्गा सहित ३० करोड रुपैया रुपैया लगानी रहेको छ । साढे ३ कठ्ठामा बनेको होटलमा बैंक्वेट, सेमीनार हल, रेष्टुरेण्ट, क्याफे लगायतको सुविधा रहेको सञ्चालक दुबेले जानकारी दिए । “अन्र्तराष्ट्रिय बिमानस्थल, बढ्दो अवसर एवम भारतको सीमा लगायतका अवसर हेरी भैरहवामै लगानी गर्ने सोच बनाएका हौं ।” दुबेले भने “पारिवारीक लगानी रहेको कारण अरु भन्दा स्तरीय र सस्तो सुविधा दिन प्रतिवद्ध छौं ।”
मंसिर २० गते देखि होटलका कोठा एवम अन्य सुविधा आंशिक रुपमा सञ्चालनमा ल्याएको अल्ट्राले होटल पूर्ण रुपमा चालु हुन अझै डेढ महिना लाग्ने छ । तत्काल यसमा ६० जनाले रोजगारी पाएको दुबेको भनाई छ । भविष्यमा क्यासिनो लगायतको सुविधा दिने लक्ष्य रहे पनि तत्काल ३ तारे होटलहरुले दिने सुविधा प्रदान गर्ने उनले बताए ।
होटलमा भविष्वर दुबे, तिल प्रसाद भण्डारी र बालकृष्ण देवकोटाको समेत लगानी रहेको छ । दुबे परिवारले २०५८ सालदेखि काठमाण्डौंको सुन्धारामा सुविधा गेष्ट हाउर पनि सञ्चालन गर्दै आएको छ ।