मर्चवार । रुपन्देहीमा टिप्परले मोटरसाईकललाई ठक्कर दिदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक सुरज कार्कीले दिएको जानकारी अनुसार बनगाइ–मर्चवार सडक खण्डको मायादेवी गाउँपालिका वडा नम्बर ७ गरगट्टिमा दिउसो साडे ३ बजे दुर्घटना भएको हो । बनगाई देखि मर्चवार तर्फ जादै गरेको लु २ ख २४७४ नम्बरको टिप्परले विपरीत दिशातर्फबाट आउदै गरेका लु ४० प २३७३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।
टिप्परको ठक्करबाट मोटरसाईकलमा सवार सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ बस्ने २० वर्षिय समीर खाँन र कोटहीमाई गाउँपालिका वडा नम्बर ७ बस्ने १८ वर्षिय शिवनाथ ठाकुरको घटनास्थलमै मृत्यु भएको कार्कीले बताए । सोही मोटरसाईकलमा सवार मर्चवार गाउँपालिका वडा नम्बर ५ बस्ने १७ वर्षिय अमित यादव घाईते भएको र उनको उपचार भईरहेको र अवश्था अहिले सामान्य रहेको कार्कीले जनाए ।
ठक्कर दिने टिप्पर र सो का चालक प्रहरीले नियन्त्रणमा लिई यस विषयमा थप अनुसन्धान गरिरहेको कार्कीले जानकारी दिए ।