काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छालाई प्रहरीले आज पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले काठमाडौँको नागार्जुन नगरपालिका–८ बस्ने गोल्छालाई नक्सालबाट पक्राउ गरेएको हो । सिआइबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतका आधारमा गोल्छालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो ।
गोल्छालाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसुरमा सोही ऐनको दफा १०३ को उपदफा (३) बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि नियन्त्रणमा लिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ ब्यूरोमा प्राप्त हुन आएकाले सोही आधारमा आजै काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिइ पक्राउ गरिएको सिआइबीले जानकारी दिएको छ ।