रुपन्देहीको कञ्चनमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु, ‘प्रविधिको सही प्रयोग’ मा जोड

जगीलाल थापा 30+ समाचार ( )
९ मंगशिर २०८२, मङ्गलबार

कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकामा सोमबारदेखि ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ विविध सचेतनामूलक कार्यक्रमसहित शुरु भएको छ । कञ्चन साथी सञ्जालको आयोजनामा शुरु भएको यस अभियानको राष्ट्रिय नारा “प्रविधिको सही प्रयोग गरौंः लैङ्गिक हिंसाको अन्त्य गरौं” भन्ने रहेको छ ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने यस अन्तर्राष्ट्रिय अभियान अन्तर्गत कञ्चनमा र्याली, दीप प्रज्वलन तथा हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न गरिएको छ । अभियानको पहिलो दिन कञ्चन गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरूको उपस्थितिमा गाउँपालिका कार्यालय परिसरमा लैङ्गिक हिंसा विरुद्ध एक्यवद्धता जनाउँदै हस्ताक्षर संकलन गरिएको थियो ।

सुनगाभा सामुदायिक विकास केन्द्र, कञ्चन–४ र कञ्चन गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित अभियान अन्तर्गत हरैया बजारमा सचेतनामूलक र्याली र दीप प्रज्वलन गरिएको कञ्चन साथी सञ्जालका सचिव समिक्षा रानाले जानकारी दिनुभयो ।

प्रविधिजन्य हिंसा बढी संवेदनशील

कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले लैङ्गिक हिंसाका विभिन्न रुपमध्ये प्रविधिको माध्यमबाट गरिने हिंसा अति संवेदनशील विषय बनेको बताउनुभयो । उहाँले शारीरिक, मानसिक, सामाजिक, साँस्कृतिक तथा आर्थिक रुपमा असर पर्ने गरी हुने हिंसा अन्त्यका लागि सबै पक्षको सहकार्य र समन्वय अनिवार्य रहेकोमा जोड दिनुभयो ।

त्यस्तै, कञ्चन गाउँपालिकाका निवर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले राज्य वा सेवा प्रदायकबाट स्रोत–साधन र अवसरको असमान वितरण, बालविवाह, महिलाको कामको अवमूल्यन जस्ता कार्यले हिंसालाई बढावा दिने बताउनुभयो । उहाँले यस्ता कार्यहरूलाई निरुत्साहित गर्न आवश्यक रहेको औंल्याउनुभयो ।

प्रविधिको सही सदुपयोग आवश्यक

हरैया माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश आचार्यले बालबालिकालाई प्रविधिको प्रयोगमा दिइने असीमित छुटका कारण समाजमा विकृति र अपराध बढेको बताउनुभयो । “प्रविधि आफैंमा गलत होइन, यसले ज्ञानको ढोका खोल्छ, तर यसको गलत प्रयोग भइरहेको छ,” आचार्यले भन्नुभयो, “यो १६ दिने अभियानले प्रविधिको सही उपयोगिताबारे थप ज्ञान दिने विश्वास छ।”

डिजिटल हिंसा अन्त्य गर्न आह्वान

कार्यक्रमको अध्यक्षता गर्दै कञ्चन साथी सञ्जालका अध्यक्ष सुस्मिता नेपालीले यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ रहेको जानकारी दिनुभयो । उहाँले अभियानको क्रममा लैङ्गिक हिंसा विरुद्ध जनचेतना फैलाउने र प्रविधिको सही प्रयोगमार्फत हिंसा रोक्ने कार्यमा सबैको साथ रहने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लैङ्गिक हिंसालाई गम्भीर सामाजिक अपराध मान्दै शून्य सहनशीलता अपनाउन आह्वान गरे अनुरुप कञ्चनमा पनि यो अभियान सशक्त बनाइएको छ ।

ईलाका प्रहरी कार्यालय रुद्रपुर र हरैया माध्यमिक विद्यालयको समन्वयमा भएको कार्यक्रममा कञ्चन साथी सञ्जालका किशोर–किशोरी, विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता थियो। हस्ताक्षर संकलनका क्रममा सहभागिहरुले "म हिंसा सहन्न, म पनि गर्दिनँ र देखेमा प्रतिकार गर्छु, आवाज उठाउँछु" लेखिएको ब्यानरमा हस्ताक्षर गर्दै प्रतिवद्धता जनाएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार