भैरहवा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नम्बर ३ की समाजसेवी ज्ञानु पौड्यालले समानुपातिक सदस्यमा उम्मेदवारी दिँदै मतको अपिल गर्नुभएको छ। रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको प्रारम्भिक सूचीमा रुपन्देहीबाट समेटिएका ७ जनामध्ये पौड्याल एक हुनुहुन्छ।
विगत तीन दशकभन्दा लामो समयदेखि सामाजिक तथा सहकारी क्षेत्रमा क्रियाशील पौड्यालले विभिन्न संघ–संस्थाको नेतृत्व सम्हाल्दै महिला सशक्तिकरण, बाल अधिकार, र भ्रष्टाचार विरुद्धको अभियानमा योगदान पुर्याउँदै आउनुभएको छ।उत्पादनमूलक क्षेत्रमा लगानी र समाजलाई आत्मनिर्भर बनाउन भूमिका खेल्नुभएकी पौड्यालले आफ्नो लामो अनुभव र सामाजिक पुँजीलाई अब राष्ट्र निर्माणमा लगाउने बताउनुभएको छ। सदनमा पुगेर जनताको विश्वासिलो आवाज बन्ने र नीतिगत पैरवीमार्फत सुशासनयुक्त समृद्ध राष्ट्र निर्माण गर्ने प्रतिबद्धतासहित उहाँले आम मतदातासमक्ष मतदानका लागि अनुरोध गर्नुभएको छ।