मर्चवार । मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाको १३औँ वार्षिक साधारण सभा आज कोटहीमाई–५ स्थित संस्थाको प्राङ्गणमा एक विशेष समारोहका बीच सम्पन्न भएको छ। सभामा संस्थाले आर्थिक वर्ष २०८१÷०८२ को आय–व्यय विवरण प्रस्तुत गर्दै आगामी योजनाहरू सार्वजनिक गरेको छ ।
संस्थाका व्यवस्थापक विश्वनाथ आर्यले प्रस्तुत गरेको प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०८१÷०८२ मा संस्थाले ४४ लाख ५५ हजार १ सय ९५ रुपैयाँ आम्दानी गरेको छ भने सोही अवधिमा ४१ लाख ५२ हजार २ सय ६८ रुपैयाँ खर्च भएको छ। उनले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि १ करोड ७८ लाख ६५ हजार रुपैयाँ आम्दानीको लक्ष्य राखी सो बराबरको कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि तथा रुपन्देही क्षेत्र नं. ४ का पूर्व प्रतिनिधि सभा सदस्य प्रमोद कुमार यादवले किसानहरूलाई देशको मेरुदण्डको संज्ञा दिँदै उनीहरूका समस्याप्रति राज्य गम्भीर नभएकोमा चिन्ता व्यक्त गरे। उनले मल, बीउ र कृषि उपकरणको समयमै व्यवस्थापन हुन नसक्नुका साथै खुला सीमाका कारण किसानले भोग्नुपरेका समस्याबारे प्रकाश पारे । यादवले मर्चवार क्षेत्रको प्रमुख समस्या नहर व्यवस्थापन र मल–बीउको अभाव रहेको उल्लेख गर्दै स्थानीय बासिन्दालाई आगामी निर्वाचनमा सोचविचारपूर्वक मतदान गर्न आग्रह गरे। उनले खेतमा सिँचाइका लागि आवश्यक स्थानमा नहर मर्मत सम्भारका लागि निःशुल्क जेसीभी उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए।
रुपन्देही क्षेत्र नं. ४ ‘क’ का पूर्व प्रदेशसभा सदस्य अष्टभुजा पाठकले नयाँ कार्यसमितिमा युवाको सहभागिताले मर्चवार लिफ्ट सिँचाइ आयोजनाले विकासको गति लिने विश्वास व्यक्त गरे। उनले सिँचाइ क्षेत्रअनुसार पानी शुल्क उठाउन समितिले ध्यान दिनुपर्ने सुझाव दिँदै कर्मचारीलाई पूर्ण तलब दिँदै आए पनि पानी शुल्क उठाउन नसक्नु चिन्ताको विषय भएको बताए।
कार्यक्रममा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय रुपन्देहीका प्रमुख भेषराज भुसाल, कोटहीमाई गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादव, सम्मरीमाई–१ का वडाध्यक्ष शिवकुमार यादव, कोटहीमाई–७ का वडाध्यक्ष पवन कुमार यादव लगायतका किसान प्रतिनिधिहरूले पनि मन्तव्य राखेका थिए।
सभामा मर्चवार–१ का पूर्व वडाध्यक्ष तथा नेपाली कांग्रेसका क्षेत्रीय अध्यक्ष मुकेश यादव, कोटहीमाई–३ का पूर्व वडाध्यक्ष चन्द्रभान यादव, कोटहीमाई–५ का पूर्व वडाध्यक्ष हनुमान यादव, सम्मरीमाई–७ का पूर्व वडाध्यक्ष शिवनरायण यादव लगायतको उपस्थिति रहेको थियो। संस्थाका अध्यक्ष राजेन्द्र यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव जगन्नाथ प्रसाद कुर्मीले गरेका थिए।