कास्की । गृहमन्त्री ओमप्रकाश अर्यालले 'जेनजी प्रदर्शन'का क्रममा वीरगति प्राप्त गरेका प्रहरी सहायक हवल्दार अमृत गुरुङको परिवारसँग भेट गर्नुभएको छ। कास्कीको रुपा गाउँपालिका–५ रामदीस्थित गुरुङको निवासमै पुगेर गृहमन्त्री अर्यालले शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो।
भेटका क्रममा गृहमन्त्री अर्यालले राष्ट्रका लागि प्राण आहुति दिने वीर सपुतको परिवारलाई राज्यले एक्लो महसुस हुन नदिने बताउनुभयो। उहाँले पीडित परिवारलाई राज्यका तर्फबाट सकिने सम्पूर्ण सहयोगका साथै परिवारका सदस्यलाई रोजगारीको उपयुक्त प्रबन्ध गर्ने आश्वासन समेत दिनुभयो। सो अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले संगठनले गुरुङको उच्च बलिदानलाई कहिल्यै नबिर्सने प्रतिबद्धता व्यक्त गर्नुभयो।
प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत गुरुङको गत भदौ २४ गते काठमाडौँको कोटेश्वरमा भएको 'जेनजी आन्दोलन'का क्रममा मृत्यु भएको थियो। वि.सं. २०७० सालमा प्रहरी सेवामा प्रवेश गरेका गुरुङको निधनप्रति गृहमन्त्री, गृहसचिव रामेश्वर दंगाल लगायत उच्च पदस्थ अधिकारीहरूले गहिरो दुःख व्यक्त गर्नुभएको छ।