काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । पार्टीले यहाँ आज पत्रकार सम्मेलन गरी निर्वाचन विथोल्न चाहने शक्तिहरू अहिले पनि सक्रिय भएको उल्लेख गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेको छ ।
नेकपाले भनेको छ, “विभिन्न पक्षबाट कतिपय प्रसङ्गमा दलहरूपिच्छे आचारसंहिता अनुगमनमा फरक व्यवहार तथा आचारसंहिता उल्लङ्घनविरुद्ध प्रभावकारी निगरानी र कारबाही नगरेको जस्ता प्रश्नहरू निर्वाचन आयोगमाथि उठाइएका छन्, जटिल परिस्थितिमा निर्वाचन गर्न लागेको आयोगले आफूमाथि प्रश्न उठ्न नदिन, जनतामा भ्रम छरिनबाट रोक्न तथा आचार संहिताविपरीतका सबै गतिविधिहरूविरुद्ध प्रभावकारी कदम चाल्दै जनताको विश्वास कायम राख्नुपर्छ ।”
निष्पक्ष, स्वतन्त्र र भयमुक्त निर्वाचन सुनिश्चित गर्न स्पष्ट निर्णय, कडा निगरानी र आचारसंहिता कार्यान्वयनमार्फत जनविश्वास सुदृढ गर्नु निर्वाचन आयोगको संवैधानिक दायित्वसमेत रहेकाले आयोगले विगतमा झैँ आफ्नो दायित्व कुशलतापूर्वक निर्वाह गर्नेछ भन्ने पार्टीको अपेक्षा छ ।
पत्रकार सम्मेलनमा पार्टीको निर्वाचन प्रचार समितिका संयोजक अग्नीप्रसाद सापकोटाले भन्नुभयो, “वर्तमान सङ्कटबाट देशलाई बाहिर निकाल्न, स्वाधीनता र सार्वभौमसत्ता तथा राष्ट्रिय एकता सुदृढ गर्न र स्वच्छ, निष्पक्ष एवं भयमुक्त वातावरणमा निर्वाचन सुनिश्चित गर्न नेपाल सरकार, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत सबै पक्षलाई उच्चतम इमानदारी, जिम्मेवारी र प्रतिबद्धता प्रदर्शन गर्न हामी हार्दिक आह्वान गर्दछौँ ।” केही सीमित सञ्चारमाध्यम पत्रकारिताको न्यूनतम मान्यता र निर्वाचन आचारसंहिताविपरीत भ्रामक र गलत सूचना फैलाएर आफ्नो पार्टीलाई अवमूल्यन गर्ने प्रयासमा निरन्तर लागिरहेको उहाँको भनाइ छ ।