बेलहियाबाट अवैध कल बाईपास सञ्चालन गरेको आरोपमा एक पुरुष पक्राउ

Ujyalosandeshonline 12436+ समाचार ( )
१४ श्रावण २०८३, बिहीबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्क क्षेत्रबाट गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय कल बाईपास सञ्चालन गरिरहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा जिल्ला चुमनुव्री गाउँपालिका–४ घर भई हाल बेलहियास्थित न्यु मुक्ति होटल एण्ड रेष्टुरेन्टको दोस्रो तलामा भाडामा बस्दै आएका ६२ वर्षीय छिरिङ गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त टोलीले साउन १३ गते बिहान १० बजे गुरुङलाई नियन्त्रणमा लिएको हो।

विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले कोठा खानतलासी गर्दा कल बाईपासमा प्रयोग गरिने सिमकार्ड जडान हुने डिभाइस, राउटर, इन्भर्टरका साथै ३ थान मोबाइल, ५६ थान भारतीय सिमकार्ड, ३ थान चिनियाँ सिमकार्ड, १ थान एनटीसी र ३८ थान एनसेलका खाली सिम खोल बरामद गरेको छ।

यसका साथै प्रहरीले ११ हजार नेपाली रुपैयाँ, ७ हजार ९ सय भारतीय रुपैयाँ, बाग्मती प्रदेश ०२–०२७ प ९५९७ नम्बरको स्कुटर र अन्य कानुनी कागजातहरूसमेत जफत गरेको छ । अवैध कल बाईपासमार्फत राजस्व घाटा पुर्‍याएको कसूरमा अनुसन्धानका लागि रुपन्देही जिल्ला अदालतबाट दूरसञ्चार ऐन अनुसार ५ दिनको म्याद थप गरी गुरुङलाई हिरासतमा राखिएको रुपन्देही प्रहरीका सूचना अधिकारी डिएसपी कृष्णकुमार चन्दले जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार