लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश दिइएको बताउनुभएको छ । २५६९ औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आजको दिनले शान्तिको सन्देश विश्व सामु फैलाउन र गौतम बुद्धले दिएका सन्देशलाई प्रचार–प्रसार गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
`जनताले मान्दै आएको गौतम बुद्धको दर्शनलाई मार्गदर्शक सिद्धान्तको रूपमा लिएर अगाडि बढिरहेको यस सन्दर्भमा बुद्धको सन्देश र दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गइरहेको छन´ मुख्यमन्त्री आचार्यले भन्नुभयो-`बुद्धको सन्देशलाई हामी सबैले अनुशरण गर्न जरुरी छ । यो पवित्र भूमिमा शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्ति मनाउन हामी सबै यहाँ उपस्थित भएका छौँ । लुम्बिनी ज्ञान भूमि हो । पवित्र तपोभूमि हो । यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आकर्षित गर्न सकिन्छ ।´
मुख्यमन्त्री आचार्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि नियमित उडान नहुँदा चिन्ता बढेको बताउनुभयो । उहाँले विमानस्थल सञ्चालन तथा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रदेश सरकारले पहल गरिरहेको विषयमा समेत चर्चा गर्नुभयो ।
`लुम्बिनीको बारेमा सम्माननीय प्रधानमन्त्रीले नजिकबाट नियाल्नु भएको छ । उहाँको नेतृत्वमा यो विमानस्थल सञ्चालनमा आउनेछ´ उहाँले भन्नुभयो-`यो विमानस्थल सञ्चालनमा आयो भने लुम्बिनीको मुहार फेरिने छ । अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमन बढ्ने छ । विनम्रताका साथ सम्माननीय प्रधानमन्त्री र नागरिक उड्डयन मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु । यहाँहरूको पहलकदमीमा यो एयरपोर्ट सञ्चालनमा आउने छ ।´