सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले बिदाको समयमा सरकारी सवारी साधनको प्रयोगमा पूर्ण रोक लगाएको छ । सरकारी सवारी साधनको दुरुपयोग रोक्न र सरकारको मितव्ययिता नीतिलाई सघाउ पुर्याउन यो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
सन्धिखर्क नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभएअनुसार बिदाका दिनमा कुनै पनि सरकारी सवारी साधन प्रयोगमा ल्याइने छैन । उहाँले सरकारी सवारी साधनको प्रयोग नगर्दा सरकारले लिएको मितव्ययिताको नीतिमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । यो कदमले सार्वजनिक स्रोतको समुचित प्रयोगलाई बढावा दिने र सरकारी खर्चमा पारदर्शिता कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।