नेपालको राजधानी काठमाडौंमा रहेको प्रसिद्ध पशुपतिनाथ मन्दिरमा वर्षेनी सयौं भक्तजनहरु आउने गर्दछन् । यसलाई एशियामा शिवको सबैभन्दा पवित्र मन्दिरहरू मध्ये एक मानिन्छ। तर वाराणसीको घाटमा एउटा मन्दिर छ, जसलाई नेपाली मन्दिर भनिन्छ, जुन पशुपतिनाथ मन्दिरको प्रतिरुप हो । एक किवदन्ती अनुसार १९ औं शताब्दीमा नेपालका एक राजाले आफ्नो सत्ता त्याग गरे पश्चात यो मन्दिरको निर्माण गराएका थिए ।
वाराणसीको पवित्र ललिता घाटमा
अवस्थित श्री समरेश्वर पशुपतिनाथ महादेव मन्दिरलाई नेपाली मन्दिर वा काठवाला
मन्दिर पनि भनिन्छ। यसको वास्तुकलाको कारण, यो मन्दिर
वाराणसीका अन्य मन्दिरहरू भन्दा पूर्ण रूपमा भिन्न देखिन्छ। यस मन्दिरको निर्माणको
पछाडि एउटा रोचक कथा छ ।
सन् १८०० मा स्वामी निर्गुणानन्द
नामका व्यक्ति वाराणसीमा आइपुगे, जो अरु कोही नभई नेपालका निर्वासित
राजा रणबहादुर शाह थिए ।
बुबा प्रतापसिंह शाहको मृत्युपछि
१७७७ मा आमा राज्यलक्ष्मी देवी र काका बहादुर शाहको राज प्रतिनिधमण्डल र आश्रयमा रणबहादुर
शाह सत्तामा आए ।उनका काका बहादुर शाहसँग उनको सम्बन्ध तनावपूर्ण थियो र उनले अन्ततः
काकालाई हिरासतमा लिए। रणबहादुर शाहले मैथिली विधवा ब्राह्मण कान्तावतीसँग विवाह
गरे र जेठो छोराको सट्टा कान्तावतीबाट जन्मेका छोरालाई आफ्नो उत्तराधिकारी बनाउने
निर्णय गरे।
दुर्भाग्यवश, उनको
छोरा गीर्वाणयुद्ध विक्रम शाहको जन्म भएको एक वर्ष पछि, कान्तावतीलाई
१७९८ मा क्षयरोग भयो। यसपछि राजाले स्वेच्छाले सत्ता त्याग गरी गीर्वाणयुद्धलाई
सिंहासनमा बसाले र आफ्नी रानीसँग स्वामी निर्गुणानन्दको नामवाट तपस्वी जीवन बिताउन
थाले। केही दिन पश्चात कान्तावतीको बिमारीका कारण मृत्यु भयो, जसका
कारण राजाले मानसिक सन्तुलन गुमाए। तिनले मन्दिरहरू भत्काउन थाले र सत्ताको
मामिलामा हस्तक्षेप गर्न थाले, जसले गर्दा दुईवटा अलग-अलग शक्ति
केन्द्रहरूको गठन भयो। युवा राजकुमार गिर्वाणयुद्धका समर्थकहरूले रणबहादुर शाहलाई
पक्राउ गर्न सेना पठाए र राजा पछि हट्न बाध्य भए। रणबहादुर शाहले अन्ततः वाराणसीमा
शरण लिए, जहाँ उनी लगभग चार वर्ष बसे।
निर्वासित राजाले आफ्नो देश
अर्थात् नेपाल जस्तै वाराणसीमा पनि वातावरण बनाउन चाहेको थिए । वाराणसीमा रहँदा
उनले पशुपतिनाथ मन्दिर जस्तै नेपाली मन्दिर बनाएको बताइएको छ । यस मन्दिरमा नेपाली
प्यागोडा वास्तुकलाको विशेष झलक देखिन्छ । पशुपतिनाथ मन्दिर जस्तै यहाँ पनि मन्दिर
बनाउन राजाले कुनै कसर छोडेनन् ।
यसका लागि उनले नेपालबाट कामदार
झिकाएका थिए । यसमा सत्यता पनि हुन सक्छ, किनकि केही
दस्तावेजका अनुसार मन्दिरको काठमा नक्काशी गर्ने काम स्थानीय कारीगरको कला हुन सक्दैन
। रातो रङको मन्दिर पूर्णतया काठ र टेराकोटा ढुङ्गाले जटिल नक्काशीले बनेको छ र
वरिपरि इमली र पिपलको रूखले घेरिएको छ, यो फरक देखिन्छ।
वास्तवमा यस मन्दिरलाई काठको संरचनाका कारण 'काठवाला मन्दिर' पनि भनिन्छ।
चाखलाग्दो कुरा के छ भने यस मन्दिरमा विशेष प्रकारको नक्काशीका कारण यसलाई 'मिनी
खजुराहो' पनि भनिन्छ ।
तर यो पशुपतिनाथ मन्दिरको प्रतिरुप
होइन । जहाँ यी दुई मन्दिर बनेका छन्, त्यहाँको अवस्था
पनि उस्तै छ । पशुपतिनाथ मन्दिर बागमती नदीको किनारमा अवस्थित छ, जसलाई
नेपालमा पवित्र श्मशान स्थल मानिन्छ। अर्कोतर्फ, नेपाली मन्दिर, वाराणसीको
सबैभन्दा पवित्र श्मशान स्थल, मणिकर्णिका घाटबाट मात्र १०० मिटर
टाढा छ । मणिकर्णिका शहरको दुईवटा श्मशान स्थलहरू
मध्ये एक हो । यो मन्दिर बनेको पवित्र ललिता घाट (देवी ललिताको नाममा
राखिएको) पनि रणबहादुर शाहले बनाएको बताइएको छ ।
तर प्रश्न यो पनि उठ्छ कि नेपालका
राजाले वाराणसीमा मन्दिर किन बनाए ? यसको कारण यो हो
कि वाराणसी र नेपालबीच सधैं गहिरो सांस्कृतिक र आध्यात्मिक सम्बन्ध रहेको छ।दुबै
शहरहरूमा शिवसँगको सम्बन्ध छ, र यहाँ केही सबैभन्दा पवित्र शिव
मन्दिरहरू छन। रोचक कुरा के छ भने, भगवान बुद्ध
नेपालको लुम्बिनीमा जन्मेका थिए र वाराणसी शहर नजिकैको सारनाथमा आफ्नो पहिलो उपदेश
दिएका थिए। वाराणसी, संसारको सबैभन्दा पुरानो शहरहरू
मध्ये एक, सबैभन्दा पवित्र स्थलहरू मध्ये एक हो। पुरातन समयमा यो
धार्मिक, शैक्षिक, दार्शनिक, कलात्मक
र व्यापारिक गतिविधिहरूको केन्द्र थियो। नेपालका धेरै राजाहरूसँग घनिष्ठ सम्बन्ध
थियो, जो बारम्बार वाराणसी भ्रमण गर्थे। उनले सहरका धेरै मन्दिर
निर्माणमा पनि चन्दा दिएका थिए । नेपालका निर्वासित राजाहरू अक्सर वाराणसी जाने
गर्थे। राजाहरू बाहेक नेपालका धेरै विद्वानहरू वाराणसीमा अध्ययनका लागि आउने
गर्दथे।
यो आकर्षक मन्दिर निर्माण हुन करिब
तीन दशक लाग्यो । मन्दिर निर्माण भइरहेका बेला रणबहादुर शाह सन् १८०४ मा नेपाल
फर्के । सन् १८०६ मा उनको मृत्युपछि उनका छोरा गीर्वाणयुद्ध विक्रम शाह देवले
निर्धारित समय सीमा भन्दा करिब २० वर्षपछि मन्दिरको निर्माण सम्पन्न गरेका थिए ।
यो अनुपम मन्दिर यहाँ आउने विद्वान
र यात्रुहरूको नजरबाट कहिल्यै टाढा रहन सकेन। भारतीय विद्वान तथा लेखक रजनी रञ्जन
सेन आफ्नो पुस्तक ‘द होली सिटीः बनारस’ मा लेख्छन्, ‘नजिकै छायादार
ठाउँमा नेपाली पशुपतिनाथ शिव मन्दिर छ, दुई तले, सुनले
ढाकिएको र नेपाली सिंहका मूर्तिहरू बनेका छन्। पूर्णतया काठले बनेको, प्रशस्त
र विस्तृत सुन्दर नक्काशीहरू सहित यो बनारसमा आफ्नो प्रकारको अद्वितीय मन्दिर हो
।
काठमा विभिन्न देवी-देवताका चित्रहरू कोरिएका छन्। यसबाहेक मन्दिरलाई राम्रा
गहनाले सजाइएको छ । सन् १८४३ मा काशीका राजा नरेशले रणबहादुर शाहको नाममा जग्गा
हस्तान्तरण गरेका थिए । धर्मशाला र ललिता घाट लगायतका मन्दिर र वरपरका क्षेत्रहरु
नेपाल सरकार मातहत छन् ।